व्यवसाय गर्नका लागि अपाङ्गता भएकाहरु मोवाइल तालिममा

दिप बहादुर घर्ति,

जाजरकोट ।

आआफ्नो व्यवसाय गर्नका लागि जिल्ला सदरमुकाम खलंगामा अपाङ्गहरु ३ महिने मोवाईल मर्मत तालिममा जुटिरहेका छन् । अपाङ्ग नागरिकहरुले आफ्नो जीवन आफै धान्ने मनसाय राखेर मोवाईल तालिममा जुटेका हुन् ।

जिल्ला विकास समितिको आर्थिक सहयोगमा अपाङ्ग उत्थान केन्द्र जाजरकोटको आयोजनामा यहि २० गते देखि सदरमुकाम खलंगामा ३ महिने मोवाईल मर्मत तालिम सुरु भैरहेको छ । उक्त तालिममा १२ जना सहभागीहरु रहेका छन् । जसमा ३ जना महिला, ४ जना दलित, २ जना जनजाती र ४ जना क्षेत्री रहेको अपाङ्ग उत्थान केन्द्र जाजरकोटका अध्यक्ष यमबहादुर बस्नेतले जानकारी दिए ।Disable Entrepreneur-Jajrkot

साथै अध्यक्ष बस्नेतले खाना, बस्नको लागि सहभागीलाई प्रति व्यक्ति मासिक १५ सय रुपैया दिने वताए । उनले तालिम सकिएपछि सहभागीहरुलाई मोवाइल मर्मतका सामाग्रीहरु पनि उपलव्ध गराईने वताए ।

तालिम लिईरहेका सहभागीहरुलाई व्यवसायमा ल्याउनका लागि वाँनियावार बाँकेमा रहेको डेक नेपाल संस्थाले ५० हजार र अपाङ्ग उत्थान केन्द्र जाजरकोटले ५० हजार गरि तालिम लिएका अपाङ्गहरुको जग्गाको लालपूर्जा धरौतिमा लिएर विना व्याज दर थोरै ऋण उपलव्ध गराउने लक्ष पनि राखिएको अपाङ्ग उत्थान केन्द्र जाजरकोटका अध्यक्ष यमबहादुर बस्नेतले वताए ।

अपाङ्गहरुको मोवाईल मर्मत तालिमको लागि यस वर्ष जिल्ला विकास समितिले ३ लाख ८२ हजार आर्थिक सहयोग गरेको छ । तालिम राम्रो प्राप्त भयो भने आफुहरु व्यवसायीक मोवाइल मर्मत पेशामा लाग्ने तालिममा सहभागी कार्कीगाउँ १ का मानबहादुर मल्ल वताउछन् ।

तीन महिने तालिम अवधिभर होटलमा खाना खाएको पैसा आफुहरुले तिर्न नसक्ने अर्का सहभागी झाप्रा ६ का किरण खड्का वताउछन् । उनले मासिक १५ सय रुपैया दिएर होटल खर्च पुरा नहुने र आफुहरुले पनि घरवाट ल्यार पनि होटलको खर्च तिर्न नसकिने भन्दै चिन्ता व्यक्त गरे ।

गत आर्थिक वर्षमा पनि महिला तथा वालवालिका विकास कार्यालयको आर्थिक सहयोग र अपाङ्ग उत्थान केन्द्रको आयोजनामा च्याउखेति सम्वन्धि तालिम दिएको थियो । उक्त तालिमवाट तालिम लिएका ४ जना मध्यवाट हाल जम्मा दुई जनाले मात्र च्याउ खेति गरिरहेका छन् । च्याउ खेति गर्नेमा खलंगाको रिम्नमा एक जना रहेका छन् भने खलंगा सदरमुकाम भित्रैकै यज्ञ कुमार शाहले गरिरहेका छन् ।

त्यसै गरि गत आ.व २०६९÷७० मा जिल्ला विकास समितिको आर्थिक सहयोगमा अपाङ्ग उत्थान केन्द्र जाजरकोटकै आयोजनामा १५ जनालाई घरेलु कपडा वुनाई तालिम दिएको थियो । जसमा ३, ४ जनाले मात्र आफ्नै घरमा आफ्नो प्रयोग प्रयोजनका लागि मात्र हल्का कपडाहरु वुन्ने गरेको अपाङ्ग उत्थान केन्द्र जाजरकोटका अध्यक्षको भनाई रहेको छ ।

हाल सम्म जिल्लामा अपाङ्गता आँकडा संख्या ६ हजार ५ सय रहेको छ भने, अपाङ्ग उत्थान केन्द्रवाट अपाङ्ग परिचय पत्र लिनेको संख्या १९ सयको हाराहारीमा पुगेको छ ।

 

Source: http://www.digitalsanchar.com/