दोहोरो संक्रमणको मारमा युवा

ब्रबिमकुमार

ब्रबिमकुमार

युवा उमेर आफैंमा संक्रमणको एउटा चरण हो, मनोसामाजिक र शारीरिक परिवर्तनसंँगै त्यसले सामाजिक भूमिकामा पार्ने फरक, आर्थिक निर्भरताबाट आर्थिक स्वनिर्भरतर्फ लाग्नुपर्ने चुनौतीको माझ नेपाली युवाहरू दोहोरो मारको संक्रमणबाट गुज्रिरहेका छन् । यो आलेख दोहोरो संक्रमणको त्यही तस्वीर प्रस्ट्याउने जमर्को हो । सन् २०११ मा भएको राष्ट्रिय जनगणनाअनुसार र सन् २०१२ मा युनिसेफले विश्वव्यापी रूपमा गरेको अध्ययनअनुसार यो वर्ष सन् २०१५ नेपालको इतिहासमै सबैभन्दा धेरै युवाहरूको जनसंख्या हुने वर्ष हो । एक अनुमानअनुसार यो वर्ष झन्डै ६ लाख युवाहरू नयाँ जागिर खोज्दै श्रम बजारमा प्रवेश गर्नेछन् र तीमध्ये झन्डै साढे ५ लाख युवाले यो वर्ष अरबको बाटो तताउने सम्भावना छ ।

सन् २०१० को अन्त्यतिरबाट सुरु भएको अरब विद्रोह, सन् २०११ को अगष्ट महिनामा लन्डनमा भएको आम ध्वंस र त्यसलगत्तै सेप्टेम्बर महिनामा कैयौं दिनसम्म अमेरिकामा चलेको अकुपाई वाल स्टि्रट अभियानले संयुक्त राष्ट्र संघसँंगै विश्वका शक्तिशाली निकाय र राज्यहरूलाई एकपटक झस्कायो । विश्वव्यापी रूपमा चलेको आर्थिक मन्दीको लहर, सोही कारण करौडौं युवाले रोजगारीबाट हात धुनुपरेपछि र नयाँ रोजगारीका सीमित सम्भावनाका कारण युवाहरूलाई चालु व्यवस्थाप्रति नैराश्यता र नकारात्मक सोच पैदा गर्‍यो । त्यससंँगै युवाको मनोवृत्ति र आकांक्षाहरूलाई बुझ्न विशेषगरी संयुक्त राष्ट्रसंघले विभिन्न कदमहरू चाल्यो । यसै प्रयास अन्तर्गत अन्तर्राष्ट्रिय श्रम संगठनले रोजगारी, शिक्षा वा तालिम यी तीनै क्षेत्रहरूमा असंलग्न युवा जमातलाई अंग्रेजीमा निट भनेर परिभाषित गरी अध्ययन सुरु गर्‍यो । निट भन्नाले रोजगारीमा नअटाएको, शिक्षामा नरहेको र कुनै तालिम पनि नलिएर खाली बसेको युवाको अनुपात हो । जसलाई अन्तर्राष्ट्रिय श्रम संगठनले निरुत्साहित युवा भनेर पनि परिभाषित गरेको छ ।

लन्डनमा भएको सहरी ध्वंस, अरबी मुलुकहरूमा भएको विद्रोह र अन्य मुलुकहरूमा भएका उतार-चढावहरूको एउटा मुख्य कारण त्यही निरुत्साहित युवाको निराशाको विस्फोट थियो । युवा पहिचान र आकांक्षालाई सम्बोधन नगरी उनीहरूलाई विकासका समग्र प्रक्रियाहरूबाट बाहिर राखियो भने त्यसले केवल आगोमा घिउ थप्ने काम गर्छ । दक्षिण एसियाली सन्दर्भमा हेर्ने हो भने सरदर निटको अनुपान १५ प्रतिशत देखिन्छ, केही अरबी र अपि|mकन मुलुकहरूमा त्यो अनुपात ६० प्रतिशतसम्म छ । नेपालमा करिब १५ प्रतिशत युवाहरू कुनै पनि रोजगार, तालिम वा शिक्षामा नरहेको अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनले बताउँछ । तर कुनै पनि रोजगारमा संलग्न नभएका हल्का मौसमी खेतीपातीमा आमाबुबालाई सघाउने युवालाई पनि अर्धरोजगारको परिभाषाभित्र हाल्ने हाम्रो प्रचलनमा त्यो अनुपात १५ प्रतिशतभन्दा धेरै माथि हुन पनि सक्छ ।

बजारकै अध्ययन गर्ने हो भने पनि कृषिभन्दा बाहेकको रोजगारीमा संलग्न युवामध्ये ८० प्रतिशत युवाहरू (९० प्रतिशत महिला) अनौपचारिक क्षेत्रमा कार्यरत छन् । श्रम ऐनबाट पर, उचित सेवासुविधाबाट लाभान्वित नभएका, सामाजिक सुरक्षाको ग्यारेन्टी नभएको अनौपचारिक क्षेत्रमा अधिकांश युवाहरू रोजगारमा हुनु अर्काे खतराको सूचक हो । आन्तरिक रोजगारीको चित्र सुखद पटक्कै छैन, तर बाह्य रोजगारी नदेखिएका पाटोहरू झन् डरलाग्दा छन् । सरकारी आँकडाअनुसार आर्थिक वर्ष २०५०/०५१ सालमा ३ हजार ६ सय ५ जनाबाट औपचारिक रूपमा सुरुवात भएको वैदेशिक रोजगार आजको दिनसम्म आइपुग्दा रोजगारी पहिलो र अन्तिम विकल्पसंँगै मूलप्रवाहको रूपमा परिणत भएको छ । सन् २०११ मा करिब ३ खर्ब रेमिट्यान्सको रूपमा भित्रिएको मुलुकमा सन् २०१४ को अन्तिममा करिब ५ खर्बको आकार ग्रहण गर्नुलाई केही खुसी र केही दुःखी हँुदै स्वीकार गर्नुको विकल्प छैन ।

निरेपक्ष गरिबीको रेखामुनि रहेका परिवारको संख्या कमी हुँदै जानु र वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दै जानु संयोगमात्रै होइन । तर यसरी राष्ट्रको अर्थतन्त्रलाई डुब्न नदिन, आर्थिक वृद्धिलाई कायमै राख्न र कुल गार्हस्थ उत्पादनको करिब एक तिहाइ योगदान पुर्‍याउने युवाका व्यथाहरूले यदाकदा पत्रिकामा समाचारको स्थान बनाउँछन् । तर संवेदनहीन राजनीति, नीति, कार्यक्रम तथा बजेट निर्माणको पक्षबाट प्रतिक्रियासम्म पनि पाउँदैनन् ।

आँकडाहरूको उचाइ र गहिराइ बढ्ने क्रम जारी नै छ, जस्तो कि ८ वर्षअघि युवा र रोजगारीसम्बन्धी राष्ट्रिय कार्यक्रम उत्पादन गर्दा प्रत्येक दिन वैदेशिक रोजगारीमा जाने युवाको संख्या ५०० को हाराहारी थियो र सपनाहरूको बीचमै अवसान भएर दुईवटा शव भित्रिने अनुमान गरिन्थ्यो, जुन संख्या हाल दैनिक करिब १० वटामा पुगेको छ । त्यसमा अंगभंग भएर, मानसिक रूपमा कमजोर भएर कति र्फकन्छन् र त्यसले उनीहरूको परिवार र भावी दिनलाई कसरी अप्ठेेरो पार्छन् भन्ने लेखाजोखा रेमिट्यान्सको हिसाब-किताबमै रुमल्लिरहेकाहरूले कहिले देख्ने ? गार्जियन पत्रिकाअनुसार कतारको रंगशाला निर्माणमा हालसम्म करिब ४ सयजना नेपालीहरूको ज्यान गइसकेको छ, र्फकनेमध्ये धेरैमा मृगौला लगायतका बिरामीहरू पाइएको छ । तर दुःखको कुरो के पनि हो भने अरबको भूमिमा कठोर श्रम गरेर नेपालको अर्थतन्त्रलाई डुब्नबाट जोगाइरहेका करिब ३० लाख युवालाई समेट्ने कुनै पनि प्रस्ट कार्यक्रम देखिएको छैन ।

वैदेशिक रोजगारीमा जाने हिसाबभित्रको तस्वीर हेर्दा १ प्रतिशतमात्र दक्ष र सीप भएका युवा हुन्छन्, बाँकी ७५ कुनै पनि सीप नभएका र २४ प्रतिशत अर्धसीप भएका हुन्छन्, दुःखको सुरुवात यहीँबाट हुन्छ । नेपालमा भएको युवा जनसंख्याको उभारको निकास अहिले वैदेशिक रोजगार भइदिएको छ । नत्र श्रम बजारमा वाषिर्क भित्रिने करिब ६ लाख युवा र विद्यमान शिक्षित, अर्धशिक्षित र अशिक्षित युवा बेरोजगारको चापले हुने विस्फोटलाई कसैले टार्न सक्ने थिएन । जसलाई पुष्टि गर्दै अर्थशास्त्री जस्टिल लिनले ‘युवा विस्फोट ः विकासशील देशहरूमा जनसांख्यिक लाभांश र जनसांख्यिक बम्ब’ शीर्षकको लेखमा लेखेका छन्, ‘व्यापक युवा जनसंख्या भएका विकासशील मुलुकहरूमा युवाले उचित अवसर, सम्मानित श्रम र सन्तोषजनक आय पाउन सक्ने अवस्था भएन भने युवा उभार जनसांख्यिक लाभांश होइन, जनसांख्यिक बम्बको रूपमा परिणत हुन्छ, जहाँ असन्तुष्ट युवाशक्ति सामाजिक र राजनीतिक अस्थिरताको स्रोत र कारक दुबै बन्छन् ।’

राजनीतिक संक्रमण पेचिलो हुँदा, आफ्नो जीवनको बेग्लै संक्रमणमा हिँडिरहेका युवाले दोहोरो संक्रमणको मार बेर्हाेनुपर्ने हुन्छ । शारीरिक परिवर्तनसंँगै मानसिक, सामाजिक र आर्थिक चापबाट गुजि्ररहेको युवाको लागि मोटा र भद्धा कार्यक्रमले समाधान ल्याउँदैन, त्यस्ता कार्यक्रम पहुँच नभएका युवाहरूलाई झन् पछाडि पार्न सक्छन् भने राजनीतिक र आर्थिक पहुँच भएका युवाले मात्र लाभ पाउन सक्ने सम्भावना हुनसक्छ । द्वन्द्वग्रस्त र द्वन्द्वोत्तर मुलुकमा युवालाई केन्द्रमा राखेर गरिएका केही अध्ययनले के देखाउँछ भने युवाको पहिचान, आकांक्षा र सहभागितालाई नजरअन्दाज गरियो भने त्यसको परिमाण दुःखद मात्रै हुन्छ । राजनीतिको संक्रमणमा रुमल्लिरहेका नेताहरूले यो पक्षलाई मनन गर्ने कहिले ? सबैभन्दा धेरै युवाको जनसंख्या हुने अवसरलाई लाभ लिनका लागि नेपाल सरकार, दातृ निकाय, विकास साझेदारसंँग कस्तो योजना छ ? प्रश्नको उत्तर आउन जति ढिलो भयो, उति युवाहरू दोहोरो संक्रमणको मारमा परिरहनेछन् ।

ब्रबिमकुमार युवा संस्थाहरूको छाता संस्था आयोनका अध्यक्ष हुन् ।