डायलाइसिस होइन, मिर्गाैला प्रत्यारोपण पो निःशुल्क गर्ने कि ?

नेपाल सरकारले मिर्गाैला रोगीलाई आजीवन निःशुल्क डायलाइसिस सेवा दिने निर्णय गरेको छ । यसअघि गरिब र असहाय मिर्गाैलाका बिरामीलाई सातामा दुईपटक गरी दुई वर्षमा दुईसय आठ पटकसम्म डायलाइसिस सेवा निःशुल्क दिँदै आएको थियो ।

सामान्य औषधी उपचार नपाएर सयौंले ज्यान गुमाउने हाम्रोजस्तो देशमा सरकारले ठूलो धनराशी खर्चेर मिर्गौला रोगीलाई बचाउने कदम चालेको छ । जुन सह्रानीय भए पनि बौद्धिकतापूर्ण निर्णय भने होइन । 

सन् १९७२ मा  नै अमेरिकाले निःशुल्क डायलाइसिसको सुरुवात गरेको थियो । दक्षिण एसियामा भने कुनै पनि देशले आजीवन निःशुल्क डायलाइसिसको व्यवस्था गरेको देखिँदैन । त्यसैले यस्तो व्यवस्था गर्ने गर्नेमा नेपाल  दक्षिण एसियाकै पहिलो राष्ट्र बन्न पुगेको छ ।

कसरी निम्तिन्छ डायलाइसिस गर्ने अवस्था ?
यदि कुनै पनि व्यक्तिको मिर्गौला फेल भयो भने जीवित रहन उसले दुई उपचार विधिमध्ये एक छान्नुपर्ने हुन्छ । कि मिर्गौला प्रत्यारोपण, कि आजीवन  डायलाइसिस थेरापी । दुवै महँगो उपचार हुन् । जसमध्येनियमित डायलाइसिस गर्ने बिरामीको त दैनिकी नै अस्तव्यस्त हुनुका साथै जीवनस्तर र उत्पादनशीलतामा ह्रास आउँछ ।

कुनै पनि व्यक्ति मिर्गाैला फेल हुनुपर्ने स्थितिमा पुग्नुअघि उसलाई कुनै न कुनै रोगले च्याप्दै गएको हुनुपर्दछ । जसको उचित उपचारबाट ऊ बञ्चित भएको हुन्छ । यदि त्यस्ता रोगको सही समयमा पहिचान भएन  र उपचार हुन सकेन भने मिर्गौला फेल हुनेसम्मको अवस्था आइपर्छ । जुन बेला बिरामीसँग ‘प्रत्यारोपण’ र ‘डायलाइसिस’ बाहेक कुनै विकल्प रहँदैन । आखिर कसरी निम्तिन्छ छ त त्यो अवस्था ? त्यस्तो अवस्था निम्त्याउनेप्रमुख कारकतत्वहरू भने यस्ता छन् ।

–उच्च रक्तचाप
–डायबेटिज मेलाइटस (चिनीरोग)
–ग्लोमेरुलोनेफ्राइटिस अर्थात् मिर्गौलाको प्रशोधन गर्ने युटिक नेफ्रोनको गडबडी वा इन्फ्लामेसन
– ट्युबुलो–इन्टरर्सटिसियल नेफ्राइटिस अर्थात् मिर्गौलाको ट्युब्युल्स र त्यस वरिपरिको इन्फ्लामेसन
–    आइबुप्रोफिन, फ्लेक्जन (पेनकिलर) जस्ता नन–स्टेरोइडल एन्टी–इन्फ्लामेटरी ड्रग्सहरूको जथाभावी र लामो समयसम्मको प्रयोग
–पोलिसिस्टिक किड्नी डिजिज
–मूत्रनलीको निकासमा समस्या जस्तैः प्रोस्टेटको आकारमा वृद्धि, मिर्गौलामा पत्थरी, मिर्गौलाको क्यान्सर
–पाइलोनेफ्राइटिस अर्थात् मृर्गौलामा हुने  संक्रमण
–    पर्सिस्टेन्ट प्रोटिनयुरिया (पिसाबमा लगातार प्रोटिनको मात्रा उच्च देखिनु)

माथि उल्लेखित समस्याहरुको पहिचानमा ढिलाइ र उचित उपचार नभएमा दीर्घकालीन मिर्गौलाको समस्या निम्तिन्छ । जसको उपचार एकदमै खर्चिलो र जटिल हुन्छ । यसका विकल्प प्रत्यारोपण र डायलाइसिस हुन् ।

डायलाइसिसको वर्तमान अवस्था र समस्या 
हप्तामा दुईपटक गरी दुई वर्षमा दुई सय आठ पटकसम्म निःशुल्क डायलाइसिस लिइरहेका बिरामीको संख्या एक हजार साठी रहेको छ । कतिपय तीनपल्ट पनि डायलाइसिस गरिरहेका हुन्छन् ।
एकजना बिरामीले हप्तामा तीनपटक डायलाइसिस गर्ने खर्च र उसलाई चाहिने औषधोपचार खर्च जोड्दा वार्षिक करिब ९ लाख रुपैयाँ हुन आउँछ । यदि उक्त बिरामीले नेपाल सरकारको हालको आजीवन निःशुल्क डायलाइसिसको निर्णय अनुसार पाँच वर्षसम्म मात्रै सेवा उपभोग गर्यो भने पनि सोको खर्च ४५ लाख रुपैयाँ हुन आउँछ । यति गर्दागर्दै पनि बिरामीले अनेकौँ समस्याहरू भोग्नुपर्ने हुन्छ ।

–जीवनस्तर कमजोर रहने र उत्पादनशिलता पनि न्यून हुने
–हप्ताको तीनपटक प्रत्येक पटक चारघण्टा डायलाइसिस गर्दा बिरामी र ऊसँग अस्पताल धाउने कुरुवाको अनावश्यक समय खेर जाने गर्दछ ।
–अधिकांश बिरामीहरूले सहरी क्षेत्रमा मात्रै डायलाइसिस केन्द्रहरू भएकाले त्यो सेवा पाउनको लागि नै बसाइँ–सराइँ गर्नुपर्ने वा त्यहाँसम्म जानका लागि यातायातमै धेरै खर्चिनुपर्ने बाध्यता छ ।
–डायलाइसिस गर्ने बिरामीलाई नियमित रगत दिनुपर्ने हुँदा रगतबाट सर्ने विभिन्न सरुवा रोगहरूको जोखिम पनि उत्तिकै हुने गर्दछ ।
प्रत्यारोपण गर्दा के फाइदा हुन्छ ?

निःशुल्क डायलाइसिस भएपछि यो सेवा लिनेको संख्या अझ वृद्धि भई प्रत्यारोपणतिर आकर्षण घट्ने छ । प्रत्यारोपणमा आकर्षण कम हुँदा यसले मानिसको आयु घटाउँछ । मुख्य कुरा उत्पादनशीलता कमी आउँछ । त्यसैले निःशुल्क डायलाइसिसभन्दा निःशुल्क प्रत्यारोपण सेवा दिँदा राम्रो हुने देखिन्छ । प्रत्यारोपण गरेकाहरु लाभवान्दित हुने भइहाले, परिवार र देशलाई पनि फाइदा हुन्छ । ती निम्नअनुसार छन्ः

–विभिन्न खोजहरूका अनुसार प्रत्यारोपणको सुविधा लिएका बिरामीहरूको डायलाइसिस लिइरहेकाहरूकोभन्दा आयु लामो हुने देखिएको छ ।
–प्रत्यारोपण गरेका बिरामीहरूको ‘क्वालिटी अफ लाइफ’ अर्थात् जीवनस्तर उच्च हुन्छ । सन्तुष्ट जीवन जिउँछन् । उत्पादनशिलता उच्च रहन्छ । आफ्नो दैनिक काममा फर्कन सक्छन् । कम्प्लिकेसन कम हुन्छ । खानामा निषेध पनि कम हुन्छ ।
–डायलाइसिसद्वारा रगतमा मिसिएका थोरै वजन भएका टक्सिनहरू प्रशोधन गर्न सम्भव भए पनि मध्यम र ठूला टक्सिन प्रशोधन गर्न भने असम्भव हुन्छ । त्यसैगरी डायलाइसिसले मिर्गौलाको इन्डोक्राइन गतिविधिहरू नियन्त्रण गर्न सक्दैन । जसले गर्दा रातो कोषको उत्पादन र भिटामिन ‘डी–३’ को उत्पादनमा चाहिने इरिथ्रोपोइटिनको कमी हुने गर्दछ । पानीमा घुल्ने लवण र अबलुमिन पनि डायलासिसमा मासिने गर्दछन् । तर यी समस्याहरू प्रत्यारोपणमा समाधान हुन्छन् ।
–डायलाइसिस लिइरहेका बिरामीहरूलाई खानपानमा कडा निषेध हुने गर्दछ, जसले गर्दा उनीहरूलाई खानपानमा पनि अप्ठ्यारो अवस्थाको सिर्जना सधैँभरि रहिरहन्छ तर प्रत्यारोपण गरेका बिरामीमा सो अवस्था रहँदैन ।
–हप्ताको तीन दिन डायलाइसिसका लागि धाउनु त्यति सजिलो छैन र उक्त बिरामीले आफ्नो डायलाइसिसलाई केन्द्रबिन्दुमा राखेर आफ्ना अरु गतिविधि मिलाउनुपर्ने हुन्छ । परिवारका सदस्य पनि सँगै जानुपर्ने स्थिति हुन सक्छ ।
–यदि डायलाइसिस अवधि कम भयो भने, सम्पूर्ण टक्सिनहरू रगतबाट प्रशोधित हुँदैन र त्यसले नसा ध्वस्त पार्नेदेखि लिएर विभिन्न अरु रोगहरूको संक्रमण पनि बढाउँछ ।
–डायलाइसिस लिइरहेका बिरामीहरूको मानसिक अवस्था बिग्रने, स्मरण शक्ति गुम्ने, आफ्नो काम गर्न नसक्ने जस्ता समस्याहरू निम्तने गर्दछन् ।

कसरी जोगिने ?
मिर्गौला बिग्रिसकेपछिको अवस्थामा उपचार एकदमै महंगो र झन्झटिलो छ । तसर्थ, यो अवस्था नआउन दिन नेपाल सरकारले पहलकदमी चालेमा मिर्गौला रोग सँगसँगै अन्य गम्भीर प्रकारका रोगको संक्रमणमा पनि कमी आउने थियो ।
–रोग लागिसकेपछि ठूलो धनराशी खर्चिनुभन्दा बेलाबखत विभिन्न स्क्रिनिङ कार्यक्रमहरू संचालन गर्नुपर्ने देखिन्छ । यदि त्यसो गरियो भने अन्य गम्भीर प्रकृतिका रोगबाट पनि बच्न सकिन्छ ।
–मृगौला रोगको बारेमा जनचेतना जगाउने, जसमा बच्ने उपायबारे सचेत गराउने काम गर्नुपर्दछ ।
–आइबुप्रोफिन र फ्लेक्जनजस्ता पेनकिलर औषधीहरूको जथाभावी प्रयोग र बिक्रीवितरणमा निषेध गरिनुपर्दछ ।
रोग लागेपछि उपचारमा लाग्नुभन्दा रोग लाग्नुअघि नै सतर्क रहनु बुद्धिमता हो । स्वस्थ पिउने र स्वस्थ खाने बानी अपनाउनु नै स्वस्थ मिर्गौलाका आधारहरू हुन् ।
(डा.निरज सिंह मिर्गौला रोग विशेषज्ञ एम. डि. मेडिसिन तथा  डि.एम.नेफ्रोलोजी हुन् भने डा. अभिषेक राज सिंह उनीसँगै कार्यरत  मेडिकल अधिकृत हुन्)