गरिबी निवारणका लागि ग्रामिण पर्यटन ः घलेगाउँ अध्ययन–अनुसन्धान भ्रमण

सागर कुंवर ।
घले गाउँको परिचय
सेताम्य हिमालहरूले घेरिएको एउटा रमणीय सुन्दर बस्ती, घामको झुल्को हिउँमा ठोक्किएर फैलिएको किरणबाट सृजित मनोरम वातावरण, प्राकृतिक सुन्दरताले सुसज्जित र भरिपूर्ण गाउँ, जहाँ आफ्नै भाषा, धर्म, संस्कृति, रीतिरिवाज, चालचलन, परम्परा र रहनसहन भएको गाउँ हो, घले गाउँ । समुन्द्री सतहदेखि करिब २,१०० मिटरको उचाइमा रहेको लमजुङ जिल्लाको उत्तरकन्या गाविस वडा नं. १, २ र ३ मा पर्ने सुन्दर, आकर्षक र रमणीय गाउँ, जहाँ गुरुङहरूको संस्कृतिले, उनीहरूको पाहुनालाई गर्ने आथित्य सत्कार तथा सम्मानले, हिमालहरूले घले गाउँलाई गरेर अपार मायाले गर्दा आज घले गाउँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको गन्तव्य स्थानमा रूपान्तरण भएको छ ।
Ghale Gaun1
ग्रामिण पर्यटनको क्षेत्रमा सार्क राष्ट्रकै नमूना गाउँ घलेगाउँ पुग्दा नलोभिने र मुग्घ नहुने त को नै होला र ? लमजुङ हिमाल, अन्नपूर्ण दोस्रो, माछापुच्छे्र गणेश हिमाल, डा. हर्क गुरुङ पिक लगाएत दर्जनाँै हिम शृङ्खलाहरूको अवलोकन गर्न पाइन्छ घले गाउँबाट । लमजुङ हिमालको काखमा अवस्थित दृश्य अवलोकनका लागि अद्वितीय मानिन्छ घलेगाउँ । पर्यटकहरूको ओइरो नै लाग्ने घले गाउँमा दैनिक झण्डै सय जनाभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन । मनोरम प्राकृतिक सुन्दरता, दर्जनौँ हिम शृङ्खलाको अवलोकन गर्न पाइने, सूर्योदय र सूर्याअस्त, मनमोहक दृश्य र गुरुङ जातिका जीवन्त संस्कृति हेर्नका लागि घलेगाउँ आउन जो पनि आतुर हुने रहेछन् ।

गरिबी निवारणका लागि ग्रामिण पर्यटनको अवधारणा अनुसार अगाडि बढेको घलेगाउँको ग्रामिण पर्यटनको विकासका प्रशस्त सम्भावानाहरू जीवित नै छन् । अर्गानिक खानपान, कोदोको ढिडो र रोटी, सिस्नोको खोले, लोकल रक्सी, लोकल कुखुराको मासु, हिमाल अवलोकन, स्थानीय संस्कृति र गाउँलेको न्यानो मायाले भुतुक्कै बनाउने रहेछ पर्यटकलाई । अल्लो र भेडाको उनबाट बनाइएका राडीपाखी, काम्लो, बख्खु झोला तथा स्वीटरहरू बनाउन निकै माहिर छन् । घलेगाउँका स्थानीय बासिन्दा, जसले परम्परागत हस्तकलाको क्षेत्रमा पनि ख्याती कमाएको छ । त्यसका साथै गाउँलेहरू निगलो र वासका डोको, थुन्से, भकारी चित्रा लगायतका आवश्यक घरयसी सामाग्रीहरू बनाउँछन ।

सामुहिक पशुपालन प्रणाली घलेको गाउँको अर्को विषेशता हो । गाउँलेहरूले सामुहिक रूपमा भेडापालन गरेका छन् । लेख तथा खर्कहरूमा राखेर पालिने सामुहिक भेडापालनले उनीहरूको आर्थिक अवस्था सुर्धानका लागि निकै राम्रो काम गरेको छ । घलेगाउँ नजिकै रहेको चिया बगानले पनि पर्यटकहरूलाई लट्ठै बनाउँछ । बेसीसहरबाट करिब ३–४ घण्टामा यातायातमा (जिप) बेसीशहर र भुजुङ सडकमा पर्ने चण्डीडाँडा, बिम्दाबेसी, पुमा, बागलुङपानी, कपुर गाउँ हुँदै घले गाउँ पुग्न सकिन्छ । जब घले गाउँको प्रवेशद्वारबाटभित्र प्रवेश गरिन्छ, गाउँले आमाहरू चामलको सेतो टिका र मखमली फुल दिएर पर्यटकहरूलाई स्वागत गर्दछन । त्यो आनन्दमय स्वागत अरू कहाँ पाउन नै सकिन्छ र ?

नेपाली समाज बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक, बहुजातीय समाज हो । विविधतामा एकता नेपाली समाजको पहिचान हो । त्यस प्रकारको अवस्थाबाट अछुतो छैन घले गाउँ पनि । करिब ११५ घर धुरी रहेको मध्ये एक घर ब्राह्मण, २३÷२४ घर कामी र अरू सबै घले तथा गुरुङहरूको बसोवास भएको गाउँ हो घलेगाउँ । एकातिर, हिमालको काखमा अवस्थित अर्कातिर, गुरुङहरूको मौलिक संस्कृति, होमस्टे, पर्यटकहरू लोभ्याउने चिज नै यिनै हुन । त्यसमाथि उत्तरकन्या मन्दिर, सातकन्या कुवा, चिया वगान, गोरूको सालिक, गुरुङहरूको गुम्बा, गुरुङ सङ्ग्रहालयले मोहित पार्छ पर्यटकलाई । आहा ¤ क्या सुन्दर घलेगाउँ ।

नेपालमा ग्रामिण पर्यटन

स्थानी समुदायको कला, संस्कृति, भेषभुषा, भाषा, धर्म, रीतिरिवाज, चाललचन तथा त्यस समुदायहरू बस्ने स्थलबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यावलोकनको माध्यमबाट त्यस ठाउँको प्रचार प्रसार तथा आयआर्जन गर्ने पर्यटन ग्रामीण पर्यटन हो । मूलतः ग्रामिण जनताका लागि उनीहरू स्वयम्को सक्रियतामा गरिने पर्यटन व्यवसाय नै ग्रामिण पर्यटन हो । विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका दुत गौतम बुद्वको देश भनेर परिचित हाम्रो देश नेपाल पर्यटन उद्योगको प्रचुर सम्भावना बोकेको राष्ट्र हो । विश्वका नै प्रख्यात हिम शृङ्खलाहरूको बाहुल्यता मात्र होइन, प्राकृतिक सुन्दरताले भरिपूर्ण, जातीय, भाषिक, धार्मिक, तथा भौगोलिक रूपमा समेत विविधताले निपूर्ण, जनजातीय समुदायहरूमा रहेको सांस्कृतिक सौन्दर्यता तथा संस्कारहरूले पर्यटनको माध्यमबाट स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई समृद्व बनाउन सक्ने आधारहरू भएको देश नेपाल हो । पर्यटनको माध्यमबाट मुट्ठिभर मानिसको हित होइन कि समग्र राष्ट्रको समृद्वि हुनका लागि स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उनीहरू कै योजना र सक्रियतामा ग्रामिण समुदायको विकासका लागि अपनाइने पर्यटन व्यवसायलाई ग्रामिण पर्यटनभन्दा अयुक्ति हुने छैन । त्यही सिलसिलामा २०७० पौष महिनामा धवलागिरी बहुमुखी क्याम्पस, मानविकी तथा समाजिक शास्त्र सङ्काय अन्र्तगत समाजशास्त्र÷ मानवशास्त्र विभाग वि.ए. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू सार्क राष्ट्रको नमूना गाउँ घलेगाउँको अध्ययन–अनुसन्धान अवलोकन भ्रमण गरेपछि नेपालको अन्य गाउँ तथा समुदायहरूमा पनि त्यस प्रकारको पर्यटन व्यवसायको सम्भावाना छ अथवा छैन भन्ने सवाल हाम्रो मानसपटलमा खेलिरहे, जबसम्म हामी घलेगाउँ पुगेका थिएनौँ ।

सेताम्य हिमालहरूको काखमा नाचिरहेको घलेगाउँले नेपालका अन्य ग्रामिण बस्तीहरूमा पनि ग्रामिण जनसमुदायको आर्थिक अवस्थालाईमाथि उठाउन सक्नेछ भन्ने विश्वासका साथ त्यो अध्ययन–अनुसन्धान भ्रमणमा निस्केका हामीहरूलाई घलेगाउँको अध्ययनले जनजातीय समुदायहरूको बााहुल्यता रहेका जहाँ उनीहरूले आफ्नो भाषा बोल्न सक्छन, आफ्नो संस्कृतिलाई अँगाल्न सक्छन् । प्राकृतिक सौन्दर्यताले पनि साथ दिएका छन् । त्यस्ता ठाँउहरूमा ग्रामिण पर्यटनको सम्भावना रहेको निस्कर्ष निकाल्नका लागि कुनै कठिन हुँदैन । समाज शास्त्रीय÷मानव शास्त्रीय अध्ययन–अनुसन्धानले के स्पष्ट गरेको छ भने कुनै पनि समुदायले आफ्नो भाषा–संस्कृतिलाई जोगाइराख्न सक्ने हो भने त्यसले त्यो राष्ट्रको मात्र नभएर आफ्नो जाति तथा समुदायको पहिचानलाई पनि जोगाउन सक्छ ।
अध्ययन–अनुसन्धान भ्रमणको समयमा र त्यसको पूर्व तयारीको समयमा हामीले मुलतः दुई वटा मुद्दामा छलफल, बहस, अध्ययन–अनुसन्धानको योजना बनाएका थियौँ । एक, पर्यावरणमा देखिएका समस्याहरूको समाधानको विषय । दुई, ग्रामिण पर्यटनको सम्भावना र चुनौतीको विषय । तर हाम्रो ध्यान विषेशतः ग्रामिण पर्यटनको अध्ययन–अनुसन्धानको विषयमा बढी र पर्यावरणको संरक्षणको विषयमा अपेक्षाकृत रूपमा कम ध्यान गएको थियो । त्यस आधारमा घलेगाउँबाट सिकेका तथ्यहरूको आधारमा नेपाल जस्तो प्राकृतिक रूपमा सुन्दर, जातीय तथा सांस्कृतिक विविधतामा एकतामा बाँचिरहेको हाम्रो नेपालमा ग्रामीण जनसमुदायहरूको आर्थिक विकास तथा उनीहरूको भाषा तथा संस्कृतिको प्रवद्र्धनमा मात्र होइन, स्थानीय समुदायको आयआर्जनमा ग्रामिण पर्यटनले सकारात्मक भूमिका खेल्दछ । तसर्थ, घलेगाउँको परिचयका साथ साथै समग्र नेपालका दुर्गम गाउँहरू, जहाँ त्यहाँका जनताको सहभागिता र सक्रियतामा नै उनीहरूको आर्थिक स्थितिलाई मजबुत बनाउन सकिनेछ ।

ग्रामिण पर्यटन र राष्ट्रिय अर्थतन्त्र

पर्यटनको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण सहयोग पुग्दछ । आज नेपालले मात्र होइन, विश्वले नै पर्यटनलाई उद्योगका रूपमा स्वीकार गर्दै त्यसको औद्यौगीकरणमा निरन्तर लगानी गर्दै आएका छन् । नेपालले पनि पर्यटन वर्षहरूको आयोजना गर्दै पर्यटन व्यवसायकोे सम्भावनालाई उजागार गरेको छ । नेपाल सरकारले पर्यटनलाई एक उद्योगको रूपमा मान्दै त्यसको विकासमा जोड दिएको छ । तर निजीकरणको वर्तमान अवस्थामा पर्यटन उद्योगबाट फाइदा कसले लिइरहेको छ ? यो महत्वपूर्ण विषय हो । पर्यटनलाई प्रवद्र्धन गर्ने सवालमा कतिपय पर्यटन उद्योग–व्यवसायीहरूले जसरी लगानी गरेका छन्, त्यसबाट समग्र जनताको हितमा, राष्ट्रको हितमाभन्दा पनि व्यक्तिको हितमा उपयोग भएको छ । तर ग्रामिण पर्यटनको माध्यमबाट व्यक्तिको होइन, समुदाय र राष्ट्रको हितमा सहयोग पुग्दछ । प्राकृतिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक आनन्दका लागि नेपाल आउने पर्यटकहरूले नेपालको राष्ट्रिय अर्थतन्त्रको समृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन् । राणाशाशनको अन्त्य भएपछि नेपालको प्रचार प्रसार लागि महत्वपूर्ण भूमिका ब्रिटिस अनुसन्धानकर्ताहरूले गरेका थिए । नेपाल आउने पर्यटकको भिसा शुल्क तथा पदयात्रा र पर्वतारोहण शुल्कले राष्ट्रिय अर्थतन्त्रको विकासमा भूमिका खेल्दछ भने स्थानीय भाषा–संस्कृतिको प्रचार प्रसारले ग्रामीण वा स्थानीय अर्थतन्त्रको विकासमा भूमिका खेल्दछ ।

गरिबी निवारणको लागि ग्रामीण पर्यटन

नेपालीहरू अहिले पनि गरिबिको रेखामुनि बाँचिरहेका छन् । गरिबी निवारणका लागि नेपाल सरकारले चाल्ने कदमहरूले पनि नेपालको गरिबीलाई हटाउन सकेको छैन् । अर्कातर्फ, सामाजिक राजनैतिक चेतनाको अभावमा हाम्रा देशका युवाहरू अरबको खाडीमा न्यून ज्यालामा मजदुरी गर्न बाध्य छन । सरकारको उदासीनता तथा राष्ट्रिय उद्योगधन्दाको निर्माण नभएको, राजनैतिक अस्थिरताले लामो समयदेखि आक्रान्त हाम्रो देशमा स्थानीय जनताको स्वपहलमा त्यस्ता उल्ेखनीय कामहरू भने कमै मात्रामा पाइन्छन् । एकातिर, चेतनाको अभाव त अर्कोतर्फ, राज्यको नीतिको अभावमा युवाहरूको विदेश पलायन रोक्न र देशमा नै रोजगारीको सृजना गर्नका लागि ग्रामिण पर्यटनको महत्वपूर्ण भूमिका रहने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । जसरी घलेगाउँले मेटिन लागेको आफ्नो संस्कृति र परम्परालाई जोगाएर, त्यसको प्रचार प्रसार गरेर त्यहाँबाट हुने बसाइँसराईलाई रोक्न सफल भएको छ, त्यसरी नै अभावका कारण बसाइँसराईलाई रोक्नका लागि नेपालका अन्य ग्रामिण बस्तीहरूले गर्न सक्ने प्रशस्त आधारहरू छन् ।

बहुजातीय, बहुसांस्कृतिक तथा बहुभाषिकता रहेको हाम्रो नेपालमा ग्रामिण पर्यटनसम्बन्धी जनचेतना जगाउन सक्ने हो भने स्थानीय जनतालाई आफ्नै ठाउँमा आफ्नो संस्कृतिको प्रचार प्रसार गरेर नै हामी आत्मनिर्भर बन्न सक्छौँ । अरबका खाडीहरूमा बेल्चा र गैती खेलाउने हाम्रा हातहरूलाई आफ्नै जन्मभूमिको प्रचार प्रसार र समृद्धिमा लगाउने हो भने त्यसबाट स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुग्न सक्छ भने अर्कोतर्फ, राष्ट्रिय आत्मसम्मानले हाम्रो गौरवलाई उच्च बनाउँछ । यहाँ यो स्पष्ट होस् कि नेपालका सबै गाउँहरूमा ग्रामिण पर्यटनको सम्भावना नभए पनि धेरै ठाँउमा त्यस प्रकारका सम्भावनाहरू छन । जसरी घलेगाउँले आफ्नो पहिचान बनाएको छ, त्यस्तै नेपालका अन्य गाउँहरूले आफ्नै मौलिकताको आधारमा आन्तरिक तथा बाह्य पर्यटनहरूलाई आकर्षित गरेर आफ्नो आम्दानीको स्रोत बढाउन सक्ने सम्भाव्ना भने रहेका छन् । तर त्यस प्रकारको ग्रामीण पर्यटनको अवधारण समुदायमा रहेका सबै जनसमुदायको प्रत्यक्ष सहभागितामा नै हुनुपर्दछ, जसबाट सम्पूर्ण जनताले आयआर्जनका लागि अवसर पाउन । पर्यटनमा कुनै व्यक्तिले एक्लै प्राकृतिक स्रोत र साधनको फाइदा लुट्न नपाओस् भनेर नै ग्रामिण पर्यटनको अवधारण अगाडि सारिएको छ । हाम्रो भनाइ यो हो कि घलेगाउँ सबै जस्ताको तस्तै नक्कल गर्ने होइन, तर त्यहाँ लगावको सिकाइबाट अन्य ग्रामिण बस्तीहरूमा त्यहाँ परिस्थितिसँग मेल खाने ग्रामिण पर्यटन व्यवसायलाई अपनाउन सक्छौँ, जसले स्थानीय स्तरमा आत्मनिर्भर बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्दछ ।

निष्कर्ष
२०५७ सालदेखि होमस्टे सहित ग्रामिण पर्यटनको विकासमा अगाडि बढेको घलेगाउँले जसरी आज स्थानीय स्रोत र साधनको परिचालनमा आफ्नो मौलिकतालाई झल्काएको छ । त्यसको निरन्तरताको आवश्यकता देखिन्छ । घलेगाउँका मानिसहरूले आफ्नो पर्यटन व्यवसायलाई मजबुत बनाउनका लागि उनीहरूले आफ्नो व्यवसायलाई अझै विकास गर्नु पर्छ । मूलतः उनीहरूले अपनाउँदै आएको सांस्कृतिक विशेषताहरूलाई अब आउने नयाँ पुस्ताले अँगाल्ने छ वा छैन ? त्यो महत्वपूर्ण विषय हो । नयाँ पुस्ताले पनि त्यो परम्परालाई (कला, संस्कृति, भेषभुषा, रीतिरिवाज र पर्यटन व्यवसाय) आधुनिक तरिकाले समृद्ध बनाउने हो भने उनीहरूको संस्कृति कहिल्यै मर्ने छैन । अर्कातर्फ, पर्यटनको सफलताका लागि आजको दुनियामा पक्की सडक तथा इमेल, इन्टरनेटका आवश्यकता हुन्, जुन घलेगाउँमा छैनन् । अब घलेगाउँमा सडकको मर्मत सम्भार, तातोपानीको सुविधासम्पन्न होमस्टे अनिवार्य जस्तै बनेका छन् । त्यस्तै गरेर घलेगाउँमा उच्च शिक्षाका लागि राम्रो व्यवस्था गर्नु पर्ने देखिन्छ भने विदेश जाने युवाहरूलाई रोक्न नसक्नु अर्को चुनौती हो । वैदेशिक पलायनलाई रोक्न सके त्यो, पुस्ताले त्यहाँ पर्यटन व्यवसायलाई धान्न सक्नेछ । सम्भावनासँगै चुनौतीहरू अवश्य आउँछन् तर ती चुनौतीहरूको सामना गरेर निरन्तर आफ्नो कला, संस्कृति, भाषा, रीतिरिवाज, चालचलनको निरन्तरताबाट नै गर्न सकिन्छ । घलेगाउँको नयाँ पुस्ताले त्यहाँ भएको कला–संस्कृतिलाई आधुनिक प्रकारले प्रचार गर्दै गएमा विश्वको नै नमूना गाउँको रूपमा विकास हुने र पर्यटकहरूको ओइरोको चाप झन बढ्ने सम्भावनालाई अस्वीकार गर्नु पर्दैन ।

http://www.hankweekly.com/index.php?action=news&id=6008