“अनि तपाई मलाई भन्नुहुन्छ, विकास र परिवर्तन विस्तारै हुन्छ, समय आउँछ, पर्खनुपर्छ”

प्रदीप परियार

माफ गर्नुहोला, यो लेख लेखेर कसैलाई आघात पुर्याउने मेरो उद्देश्य छैन तर नलेखी मनमा रहेको ज्वारभाटा पनि शान्त हुनै सक्ने अवस्था देखिएन । यो लेखमा अलिकति भावना मिसिएको, अलिकति पीडा मिसिएको छ । कोरा तर्क र तथ्याङ्कमात्रै छैन ।
धेरै मान्छेलाई अहिले लागेको छः राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीश मधेसी छन् ! सभामुख जनजाति र उपसभामुख जनजाति–महिला छँदैछन् ! सबै समावेशी छँदैछन, अरु के चाहियो ?

यसरी हेर्ने धेरै मान्छेलाई लाग्दोरहेछ, नेपालमा योग्यता र क्षमता हुने जो पनि जहाँ पनि पुग्न सक्छन्, कुरो सही नै हो । तर सम्झनुस्, केही समूह र समुदायले आजमात्रै होइन २४० वर्षभन्दा पनि बढी समयदेखि नेपालमा शासन गर्दै आएका छन । उनीहरूका मानिसहरू शासनसत्तावरिपरि छन् । उदाहरणका लागि, नेपालमा अहिलेसम्म विशेषतः २०४६ सालपछि भएका प्रधानमन्त्री र गृहमन्त्रीहरूका सूची हेर्नुस् ।
केही मानिस भन्ने गर्छन्, पहिले पो शासकहरूमा राणाहरू थिए, राजाहरू थिए, उनीहरूले पो शासन गरे । तर गहिरिएर हेर्नुस् त, पहिले पनि गुरूज्यू को थियो ? गाउँगाउँमा बडाहाकिम को थिए ? अन्चलाधीशको थिए ? निजामती कर्मचारीदेखि पुलिस, सेना, अदालतमा को थिए ?

भन्नुहोला गरिब त क्षेत्री बाहुन पनि छन्, सही हो । हो, उनीहरूलाई पनि राज्यले आर्थिक समानताका लागि हेर्नुपर्दछ । तर एक जना गरिव क्षेत्री बाहुनले पनि मधेसी, दलित, जनजाति, महिला, कर्णाली सुदूरपश्चिमेली हुनुको पीडा खेप्नु परेको छैन । यो त तपाईं मान्नुहुन्छ होला नि ।

म उत्पीडित समुदाय र क्षेत्रका केही उदाहरण राख्दै थप प्रस्ट पार्ने कोसिस गर्दैछु ।
एकजना मधेसीले बारम्बार म नेपाली हुँ भन्ने प्रमाणित गरिरहनुपर्दछ तर नेपाली भाषा बोल्ने भारतीय वा बर्मेलीले कहिले पनि नेपाली भनेर प्रमाणित गरिरहनु पर्दैन, ऊ स्वतः नेपाली हुन्छ ।

केही दिनअघि एयरपोर्टमा छोराछोरीसहित बर्मा (म्यानमार)मा रहेको घर जान लागेको नेपाली भेटें । दुवै देशका नागरिकता भएका उक्त व्यक्तिले भने, ‘मैले नेपाली नागरिकता र पासपोर्ट पनि लिइसकें, मेरो श्रीमान र म दुवै जना भैरहवामा डाक्टर छौ ।’
त्यतिबेला मैले खाँटी नेपाली हुनलाई मधेस आन्दोलनमा सहिद हुनेहरूलाई सम्झें अनि थाहा पाएँ, नेपाली भाषा जान्नुको महत्व कति रहेछ भनेर । नेपाली भाषा राम्रो बोल्यो भने ऊ स्वतः नेपाली भयो । आखिर मधेसीले मैथिली, भोजपुरी, अवधी र हिन्दी बोल्यो भने, कालो वर्णको भयो भने उसले नेपाली भन्ने बारम्बार प्रमाणिीत गरिरहनुपर्ने ?
अनि तपाईं भन्नुहुन्छः मधेसी विखण्डनकारी भयो ! विद्रोही भयो !
दलितको पीडा आफ्नो ठाउँमा छँदैछ, जसले छिमेकीको घर कस्तो छ देखेको हुँदैन । टाढाको के कुरा गरौं, मैले मेरो अति मिल्ने गैरदलित साथीको घरमा ३२ वर्षपछि पाइला टेकें । यसबीचमा ऊ मेरो घरमा हजारौंपल्ट आयो होला । मलाई उसको घरमा गएर अपमानित हुनुभन्दा उसलाई मेरो घरमा आउनु सजिलो थियो ।

म आफूलाई पढाउने गुरूलाई सम्झन्छु । अहिले पनि बिर्सेको छैन विभेदको घटना । पानी परेको दिन गुरूको घरको ढोकाबाट भित्र छिर्न पाइएन । त्यसपछि म रुझ्दै घर फर्कें । तपाईंं भन्नुहोला, यो त उहिलेको कुरा खुइले । तर अहिले पनि काठमाडौंमा घर भाडामा विभेद भएपछि म १० वर्षसम्म मुस्लिम परिवारको घरमा बसें । यसको अर्थ धेरैजसो विभेदसँग लड्नु छ । बाँकी विभेदको फेहरिस्त सम्झियो भने कि रुन मन लाग्दछ कि विद्रोही हुन कर लाग्छ । अब तपाईं आफै भन्नुस् म विद्रोही भइनँ भने को हुन्छ विद्रोही ?
धेरैजसो आदिवासी जनजातिले आफ्नो मातृभाषामा कहिले शिक्षा लिन पाएका छैनन् । प्रश्न उठ्छ, त्यस्ता स्कुल किन खोलिएन ? उनीहरूका भाषाको संवर्धन किन गरिएन ? अब तपाईं भन्नुहोला, अब त अंग्रेजीको जमाना आइसक्यो, मातृभाषा सिक्न कसले रोकेको छ र सिके भइहाल्यो नि ?

यहाँ यात्राको क्रममा देखेको सत्य लेख्दैछु । सिंगापुरको ट्रेनमा तमिल एरियामा पुग्दा तमिलमा, मलेसियन एरियामा पुग्दा मलयमा, चाइनिज एरियामा पुग्दा चाइनिजमा उद्घोषण गर्ने रहेछ । अंग्रेजीको जमाना हो, अंग्रेजीमै गरेको भए नि हुन्थ्यो नि, किन नगरेका होलान त ? तपाईंहरू त अंग्रेजी पनि बुझ्नुहुन्छ, मेरो त भर्खर २ पुस्ता भयो अक्षर चिन्न थालेको । म त यसो गरिनुको कारण कमै बुझँुला, तपाईंहरू त अवश्य बुझ्नुहुन्छ । नबुझेजस्तो नगर्नुस्, नत्र ढिला भइसकेको हुनेछ

मनमा प्रश्न उठ्छ, महिलाहरूले आफ्नो परिवार राम्रोसँग चलाउनुहुन्छ, किन देश चलाउन सक्दैनन् भनेर सोचिएन ? सोच्न त सोचियो, तर महिला घरबाहिर निस्के बिग्रन्छन भनेर मात्रै । महिला यस्तो चिज हो, जो बिग्रनु हुँदैन । अब नेतृत्वको कुरा त पर भइहाल्यो ।
कहिलेकाहीँ म आमालाई हेर्दछु, उहाँले शिक्षा पाउनुभएन । आधा जिन्दगी त्यसै अन्धकारमय भयो तर त्यही पुस्ताका बुवाले शिक्षा पाउनुभयो । बुबा अफिस जाने हुनुभयो भने आमा घरमै सीमित हुनुभयो ।

मेरी आमाको जिन्दगीमा महिला भएकोले हुने पीडा त छँदैछ दलित महिला भएकोले हुने पीडा त अझ थपिएको छ । अरुको पालो सकेपछि बल्ल पानीको पालो आउने र घण्टौं पानी लिन बसेको अझै सुनाउनुहुन्छ उहाँ । गाउँको कुरा गर्यो भने, अहिले मैले समावेशिताको कुरा गर्यो भने, मान्छे चन्द्रमामा पुगिसकेको समावेशिता भन्छन् केही उपबुज्रुक मान्छेहरू । उनीहरू भन्दैनन्ः हामीले गरेको विभेदका कारण महिलाहरू पछि परेका हुन्, हामीले पछि पारेका हौ भनेर । तर महिलाहरूसँग पनि माफी मागेर खुला हृदयले अगाडि बढौं र सँगै अगाडि बढौ भन्नु बाहेक अर्को विकल्प छैन ।

कर्णाली र सुदूरपश्चिमका समस्याको के कुरा । काठमाडौं खाल्डोमा कति पटक रोड बने र भत्के, कति पटक राम्रो सडक भत्काएर नाटक गरे । यसको सबै हिसाबकिताब जोडौ र सुर्खेतदेखि जुम्ला पुग्न बनाइएको हिसाब जोडौ । त्यसले प्रस्ट पार्दछः क्षेत्रीय विभेद छ कि छैन ? कुनै बेला डोरबहादुर बिष्टजस्ता अगुवा नभएको भए अहिले पनि कर्णालीमा प्राविधिक शिक्षा पढाउने विद्यालय हुनेथियो कि थिएन, थाहा छैन ।

भनिन्छ कर्णाली जडिबुटीको भण्डार हो, त्यसको उपभोग कसले गरिरहेको छ ? अहिले कर्णालीका कति जना विद्यार्थी छात्रवृत्तिमा राज्यले पढाइरहेको छ ? के एउटा आयोग बनाएपछि सब सकियो ? नेपाल पर्यटन बोर्डले रारा र खप्तड प्रवर्धनका लागि कति खर्च गरिरहेको छ । यसको हिसाब गरियो भने थाहा पाइन्छः क्षेत्रीय विभेद कहाँ छ भनेर । अनि ज्ञान हुन्छः कर्णाली र सुदूरपश्चिमवासी विद्रोहीबाहेक अरु के हुने हक राख्दछन् भनेर ।
म इतिहासको ज्ञाता होइन, तर सात सालदेखि इतिहास पढ्यो कि शाह या कोइराला परिवारको नाम आउँछ । कुरा बुझने भएदेखि कोइरालाको नाममा लागेको नारा जुलुस सम्झन्छु अनि अहिलेका प्रधानमन्त्री महोदयलाई सम्झन्छु अनि भन्न मनलाग्छ, सत्ता त तिम्रै वरिपरि घुमिरहेको छ त, किन देशको भलो नगरेको ?

अब भन्नुस् सिधा हिसाबले देश कसले चलाएको छ रु अनि तपाई मलाई भन्नुहुन्छ देश समावेशी छः आजभन्दा ६० वर्षअगाडि नेपाली कांग्रेस पार्टीको महामन्त्री दलित भइसकेका थिए, आज केन्द्रीय कमिटीमा आउनका लागि दलितलाई आरक्षण चाहिने भएको छ । त्यस्तै, कम्युनिस्ट पार्टीको सस्थापकहरु पनि जनजाति नै थिए, अहिले केन्द्रीय कमिटीमा आउनका लागि पनि आरक्षण चाहिएको छ । अनि तपाई मलाई भन्नुहुन्छ, विकास र परिवर्तन विस्तारै हुन्छ, समय आउँछ, पर्खनुपर्छः भारतीय कवि सर्वेश्वरदयाल सक्सेनाले भनेझै विस्तारै विस्तारै त मृत्युमात्रै आउँछ । के हामी सबै उत्पीडितहरुले मृत्यु आउने समयमात्रै कुर्दै बस्ने त ?

Source:http://esamata.com